काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन निर्धारित मितिभन्दा एक घण्टा पनि नसर्ने स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संविधान, पार्टीको विधान र अदालतको फैसलाले आफूहरू बाँधिएकाले महाधिवेशनको तिथि–मिति सर्ने विषयमा कुनै भ्रम नराख्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।
थापाका अनुसार असोज ३ र ४ गते वडा अधिवेशन हुनेछ भने असोज १६ गतेदेखि महाधिवेशनको प्रक्रिया सुरु हुनेछ। उनले महाधिवेशनमा सहभागी हुन कसैलाई पनि वञ्चित नगरिएको दाबी गर्दै सबैले सहभागिता जनाउने विश्वास व्यक्त गरे। महाधिवेशनमा प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने र त्यसपछि जिम्मेवारीमा नआएका नेताहरूलाई समेत साथमा लिएर पार्टीलाई थप बलियो बनाउने उनको भनाइ छ।
महाधिवेशन सम्पन्न भएलगत्तै कांग्रेसको पार्टीपंक्ति नागरिकसँगको सम्बन्ध र विश्वास पुनः जोड्न ७७ वटै जिल्लामा पुग्ने थापाले बताए। उनले महाधिवेशनलाई पार्टीभित्रको प्रतिस्पर्धाका रूपमा लिएर त्यसपछि सबैलाई समेटेर जनतामाझ जाने रणनीति रहेको स्पष्ट पारे।सभापति थापाले आफू पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएकाले राजनीतिक जोखिम कहाँ र कसरी उठाउनुपर्छ भन्ने राम्रोसँग बुझेको पनि बताए। पार्टीभित्रको फोहोर सफा गर्ने विषयमा निर्मम बन्ने र पार्टीको एकता कायम गर्ने सवालमा भने नरम भएर अघि बढ्ने आफ्नो नीति रहेको उनले उल्लेख गरे।