काठमाडौं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले आफूलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबाट बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले रसुवाका बाढीपीडितको शीघ्र उद्धारको माग गरेकै कारण आफू साइबर बुलिङको सिकार भएको बताइन्।
सांसद बरालले सामाजिक सञ्जालमार्फत आफूलाई हजारौँको संख्यामा धम्कीपूर्ण सन्देश आएको उल्लेख गर्दै महिलामाथि गालीगलौज, दुर्व्यवहार र धम्की दिने कार्यमा संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरिन्। उनले सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेर महिलामाथि गालीगलौज गर्ने गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्।बाढीपीडितको उद्धारमा ढिलाइ भइरहेकोप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराइन्। बाढीबाट प्रभावित महिला, सुत्केरी तथा अन्य पीडितले खाद्यान्न, ग्यास र सुरक्षित आवतजावतको अभावमा कठिन अवस्था भोगिरहेको भन्दै सरकारले उनीहरूको समस्यालाई प्राथमिकतामा राखेर तत्काल उद्धार तथा राहतको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
सांसद बरालले सडकमा महिलाले सुत्केरी हुनुपर्ने तथा खाना र ग्यासको अभावका कारण मानिसले आत्मघाती कदम चाल्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताउँदै सरकारको नीति र कार्यशैलीमाथि प्रश्नसमेत उठाइन्। उनले बाढीपीडितको उद्धार माग गर्दा आफूलाई धम्की दिनु लोकतान्त्रिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रश्न भएको भन्दै सरकारलाई साइबर बुलिङ र धम्कीमा संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गरिन्।