• २०८३ भाद्र २६ गते शुक्रवार
  • Preeti To Unicode

७०५ सिलिन्डर ग्याससहित कालोबजारीको आरोपमा व्यवसायी पक्राउ

७०५ सिलिन्डर ग्याससहित कालोबजारीको आरोपमा व्यवसायी पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा उक्त ग्यास बरामद गरेको हो। ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक ३८ वर्षीय दिनेश लुइँटेललाई पक्राउ गरेको छ। मोरङको ग्रामथान गाउँपालिका–२ का स्थानीय लुइँटेलले सञ्चालन गर्दै आएको ग्यास स्टोरबाट उपभोक्तालाई महँगो मूल्यमा ग्यास बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार लुइँटेलले एउटा ग्यास सिलिन्डर २ हजार ७५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ। प्रहरीले बरामद गरेका सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका रहेका छन्। त्यस्तै, आरोपीले नयाँ सिलिन्डरसमेत ५ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ। ठूलो परिमाणमा ग्यास लुकाएर महँगो मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका लुइँटेलमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार