हेटौँडा । “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा सर्पले डसेपछि अस्पतालतर्फ लाग्दै गरेका सर्प उद्धारकर्ता राजेश थापाले छोरा रोशनलाई भनेका थिए।राजेशले उद्धार गर्न लागेको त्यो १४औँ किङ कोब्रा थियो। करिब ११–१२ फिट लामो अनुमान गरिएको सर्पलाई सुरक्षित नियन्त्रणमा लिने क्रममा त्यसले उनको घुँडाभन्दा माथिको तिघ्रामा डसेको थियो। “त्यो ट्रयापको युद्धमा चाहिँ सर्पले जित्यो,” उक्त घटना सम्झँदै राजेशले भने। सर्पले डसेपछि उनलाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था आयो। तर आफू अस्पतालतर्फ लाग्दै गर्दा पनि उनले आफूलाई डसेको सर्प र घटनास्थलमा रहेका मानिसको सुरक्षाबारे चिन्ता गरिरहेका थिए। त्यसैले उनले छोरा रोशनलाई सर्प सुरक्षित उद्धार गरेर मात्र अस्पताल आउन भने।
बुबा अस्पतालतर्फ लागेपछि रोशनका लागि देउडी डाँडामा बितेका करिब २० मिनेट निकै कठिन बने। एकातिर बुबाको अवस्था कस्तो हुन्छ भन्ने चिन्ता थियो भने अर्कोतर्फ बुबालाई डसेकै किङ कोब्रा नियन्त्रणमा लिनुपर्ने जिम्मेवारी। “मुटुको धड्कन बढिरहेको थियो, हातखुट्टा लगलग कामिरहेका थिए,” रोशनले भने। त्यसबेला उनले भावनाभन्दा जिम्मेवारीलाई प्राथमिकता दिए। “त्यो बेला छोरा हुनुभन्दा पनि पहिला म रेस्क्युअर हुँ भनेर मैले स्वीकार गरेँ,” उनले भने। करिब २० मिनेटको प्रयासपछि उनले अन्ततः किङ कोब्रा सुरक्षित उद्धार गरे।सर्प उद्धार गरेपछि रोशनले स्थानीयलाई सर्प नमार्न आग्रह गर्दै बुबालाई भेट्न अस्पतालतर्फ लागे। उता राजेश सर्पले डसेको करिब ४० मिनेटपछि हेटौँडा अस्पताल पुगेका थिए। उपचारमा संलग्न चिकित्सक डा. हरि खड्काका अनुसार अस्पताल आइपुग्दा राजेशमा सास फेर्न गाह्रो हुने, मुटुको धड्कनमा गडबडी हुने तथा रक्तचापमा उतारचढाव हुनेजस्ता प्रारम्भिक लक्षण देखिइसकेका थिए। “अझ ढिलो भएको भए अवस्था गम्भीर हुन सक्थ्यो,” डा. खड्काले भने।हेटौँडा अस्पतालको आकस्मिक कक्षमा तत्काल दुई भाइल एन्टीस्नेक भेनम दिइएपछि राजेशलाई सघन उपचार कक्षमा लगिएको थियो। त्यहाँ थप १० भाइल एन्टीस्नेक भेनम दिइएपछि सर्पदंशका लक्षण क्रमशः कम हुँदै गए। उपचारपछि ज्यान जोगिए पनि डसेको ठाउँको घाउ निको हुन समय लाग्यो। करिब दुई महिनासम्म उनी पहिलेजसरी सर्प उद्धारमा निस्कन सकेनन्। तर सर्प उद्धारका लागि आउने फोन भने रोकिएनन्। शरीरले साथ नदिए पनि सर्प देखिएको खबर सुन्नासाथ उनको मन भने घटनास्थल पुग्थ्यो।
घटना भएको करिब तीन महिनापछि भदौ १८ गते बिहान मकवानपुरको बकैया गाउँपालिका–३ देउराली चिसापानीबाट फेरि किङ कोब्रा देखिएको खबर आयो। सुरुमा राजेशले स्थानीयलाई सुरक्षित दूरी कायम गर्न र सर्पलाई जङ्गलतर्फ जान दिन आग्रह गरे। तर सर्प बस्ती आसपासमै रहेपछि उद्धारका लागि पटकपटक आग्रह आयो। जेठमा किङ कोब्राको डसाइबाट बचेका राजेश यसपटक पनि पछि हटेनन्। छोरा रोशनलाई साथमा लिएर उनी फेरि किङ कोब्रा उद्धार गर्न पुगे।डिभिजन वन कार्यालय मकवानपुर र सब–डिभिजन वन कार्यालय हात्तीसुँडेसँग समन्वय गरी बाबुछोरा देउराली चिसापानी पुगे। करिब साढे सात फिट लामो अनुमान गरिएको किङ कोब्रालाई उनीहरूले सुरक्षित उद्धार गरे। “फेरि किङ कोब्रा आएको खबर सुन्दा मलाई डरभन्दा खुसी लाग्यो,” राजेशले भने, “त्यो घटनाबाट बाँचेर आएपछि फेरि किङ कोब्रा बचाउने अवसर मिल्यो भन्ने लाग्यो।” उनका अनुसार त्यो उनले उद्धार गरेको १५औँ किङ कोब्रा थियो। १४औँ किङ कोब्रा उद्धारका क्रममा उनी आफैँ डसिएका थिए भने त्यसको उद्धार छोरा रोशनले पूरा गरेका थिए।राजेशको सर्प उद्धार यात्रा भने करिब चार वर्षअघि सुरु भएको हो। पेसाले पत्रकार रहेका उनी सुरुवातमा सर्प उद्धारकर्ता बन्ने योजन