काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा गुड्दागुड्दैको ईभी कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु भएको छ । भदौ २६ गते बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्रदेश–०१–०३० च ५५७९ नम्बरको आयोन ब्रान्डको ईभी कारमा अचानक आगलागी भएको हो । आगलागीमा भरतपुर महानगरपालिका–१२ निवासी ५६ वर्षीय चालक अमर पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका पराजुली कारमा आगलागी भएपछि बाहिर निस्कन नसक्दा गाडीभित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । कारमा आगलागी हुनुको कारण भने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार प्रहरीले प्राविधिकहरूसँग समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको छ । स्थानीयका अनुसार आगो दन्किरहेको अवस्थामा कार गुडिरहेको देखेपछि उनीहरूले चालकलाई रोक्न आग्रह गरेका थिए । तर, कार एक्कासि सडकको डिभाइडरमा ठोक्किएको थियो । सुरक्षाकर्मीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । मृतक पराजुलीको भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।