भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङ : ‘देशले निकास पाएको ऐतिहासिक दिन’

भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङ : ‘देशले निकास पाएको ऐतिहासिक दिन’

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अन्योल र शक्ति रिक्तताबीच एक वर्षअघि भदौ २७ गते सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्। आइतबार फेसबुकमार्फत लामो धारणा सार्वजनिक गर्दै गुरुङले भदौ २३ पछिको परिस्थितिमा देश अन्योल र शक्ति रिक्तताको अवस्थामा पुगेको तथा राजनीतिक नेतृत्वप्रतिको विश्वास कमजोर बनेका कारण नयाँ नेतृत्व चयन गर्नु चुनौतीपूर्ण बनेको बताएका छन्। देश लामो समयसम्म शक्ति रिक्ततामा रहन नहुने भन्दै एक नागरिकका रूपमा आफ्नो मुख्य चाहना देशले निकास पाओस् र राज्य सञ्चालनमा आओस् भन्ने रहेको उनले उल्लेख गरेका छन्। भदौ २७ गते देशलाई निकास दिने जिम्मेवारी आफ्नो भागमा समेत आएको स्मरण गर्दै उनले राष्ट्रपति कार्यालय पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट लगाएको र एक थोपा पानी तथा अन्नसमेत मुखमा नपरेको बताएका छन्। करिब ९ घण्टाको प्रतीक्षाका क्रममा अन्योलता रहे पनि देशलाई खाली हात फर्काउन नहुने अडानमा आफू रहेको उनको भनाइ छ। अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको र कार्की चुनावी सरकारको प्रधानमन्त्री बनेपछि आफूले ठूलो जिम्मेवारीको भारी विसाएको अनुभूति गरेको गुरुङले बताएका छन्। उनका अनुसार उक्त परिस्थिति हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, विभिन्न व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाबाट निर्माण भएको हो। कार्की नेतृत्वको अन्तरिम सरकारले गत फागुन २१ गते निर्वाचन गराएपछि बालेन शाह नेतृत्वको सरकार बनेको थियो, जसमा गुरुङ हाल गृहमन्त्रीका रूपमा कार्यरत छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार