ललितपुर । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग हुन थालेसँगै यस सडकमा मालवाहक सवारीसाधनको चाप बढेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौँ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको हो। अहिले हेटौँडाबाट मालवाहक तथा यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने र काठमाडौँबाट खाली मालवाहक सवारीसाधन कान्ति लोकपथ हुँदै हेटौँडा जाने व्यवस्था गरिएको छ। तर, साँघुरो तथा निर्माणाधीन कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो, एकतर्फी ट्र्याक र सडकको कमजोर अवस्थाका कारण सवारी आवागमन सहज हुन सकेको छैन। कान्ति लोकपथ योजनाका सुपरभाइजर माधवप्रसाद घिमिरेका अनुसार अहिले दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म ठूला मालवाहक सवारीसाधन गुड्न थालेका छन्। बागमती गाउँपालिकाका भालुखोला, कार्कीबास, काल्चे, टाकुर्से, पाङ्दुर र भान्सेखोलालगायत क्षेत्रमा सवारीसाधन लामो समय जाममा बस्नुपर्ने अवस्था छ। सवारी चाप बढेपछि ट्राफिक प्रहरीले टीकाभैरव, भट्टेडाँडालगायत स्थानमा जनशक्ति परिचालन गर्नुका साथै सडकमा अवरोध आए तत्काल हटाउन २४ घण्टा हेभिइक्युपमेन्ट तयारी अवस्थामा राखेको छ। यता, मालवाहक सवारीसाधनको चाप बढे पनि यात्रु कम हुँदा कान्ति लोकपथ आसपासका होटल तथा व्यापार व्यवसाय भने प्रभावित भएका छन्। करिब सात दशक पुरानो कान्ति लोकपथलाई सरकारले मुख्य सडक अवरुद्ध भएका बेला मात्र वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने गरेको भन्दै स्थानीय तथा जनप्रतिनिधिले सामान्य अवस्थामा समेत यसको नियमित स्तरोन्नति र पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन्।