२८ भदौ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रिया सहज र समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । मागपत्र प्रमाणीकरणमा लामो समय लाग्ने तथा आवश्यक कागजात अपुग हुँदा रोजगारदाता कम्पनीलाई एकैपटक जानकारी नदिइने गुनासो बढेपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले यस्तो निर्देशन दिएको हो । २०८३ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिएपछि थप कागजात आवश्यक भए त्यसको विवरण एकमुष्ट रूपमा जानकारी गराउनुपर्नेछ । साथै, प्रचलित कानुनले तोकेको समयसीमाभित्रै प्रमाणीकरण प्रक्रिया सम्पन्न गर्न सम्बन्धित नेपाली कूटनीतिक नियोगलाई निर्देशन दिइएको छ । प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन परराष्ट्र मन्त्रालयमार्फत सबै नेपाली कूटनीतिक नियोगमा उक्त निर्देशन पठाइएको मन्त्रालयले जनाएको छ ।