बाढी प्रभावित क्षेत्रमा वाईसीएलद्वारा अस्थायी आवास निर्माण सुरु

बाढी प्रभावित क्षेत्रमा वाईसीएलद्वारा अस्थायी आवास निर्माण सुरु

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा खटिएका वाईसीएलका स्वयंसेवकले अस्थायी आवास निर्माणको काम सुरु गरेका छन्। वाईसीएलका अनुसार रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा सुरुदेखि नै ६ सय स्वयंसेवक परिचालन गरिएको छ। स्वयंसेवकहरूले बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री वितरणसँगै पीडित परिवारको गाँस र बासको व्यवस्थापनमा सहयोग गरिरहेका छन्। राहत वितरणसँगै धादिङ र नुवाकोटका बाढी प्रभावित घरहरूको सरसफाइ तथा स्थानीयको आवश्यकताअनुसार अस्थायी आवास निर्माणको काम अघि बढाइएको वाईसीएल अध्यक्ष पुष्प ओलीले बताए। उनका अनुसार मातृ पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा स्वयंसेवक टोली परिचालन गरिएको हो। पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ठूलो खोला, लामोस्वाँती, रातमाटे र महादेवफाँटका प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गरिनेछ। त्यस्तै, वैकल्पिक सडकमार्फत रसुवाका प्रभावित क्षेत्रमा ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेट, सेनिटरी प्याड तथा म्याट्रेसलगायत अत्यावश्यक सामग्री पुर्‍याइएको छ। त्रिशूली नदीपारि सडक सञ्जाल विच्छेद भएपछि धादिङ हुँदै कठिन बाटोबाट नुवाकोटको विदुर नगरपालिकाका अति प्रभावित वडा नम्बर ७, ८ र ९ मा पुगेर लत्ताकपडा, सिरक, डसना, औषधि, स्टेसनरी तथा खाद्यान्न सामग्रीसमेत वितरण गरिएको वाईसीएलले जनाएको छ। वाईसीएलले ‘निभेको चुलो बालौँ ! मरेको आशा जगाऔँ !!’ अभियान सञ्चालन गर्दै पीडित परिवारलाई खाना पकाउने ग्यास र खाद्यान्न उपलब्ध गराइरहेको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार