काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ। संसद्लाई प्रविधिमैत्री बनाउने तथा सांसदहरूले उठाएका जनसरोकारका विषयको सुनुवाइलाई प्रभावकारी बनाउने उद्देश्यले सभामुख डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन्। सिंहदरबारस्थित कार्यव्यवस्था हलमा दिउँसो १२ बजे बस्ने बैठकमा मुख्य रूपमा ‘डिजिटल संसद्’को अवधारणाबारे छलफल हुने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
संसद्को शून्य समय, आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाउने जनसरोकारका विषयलाई अब डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्ने तयारी गरिएको छ। यस्तो प्रणाली कार्यान्वयनमा आएपछि सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कार्यप्रगति कस्तो छ र कहिले सम्बोधन भयो भन्ने विषयलाई सहज रूपमा ट्र्याक गर्न सकिने सचिवालयको अपेक्षा छ।
यसैबीच, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
आजको बैठकमा एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गर्ने कार्यसूची पनि रहेको संघीय संसद् सचिवालयले जनाएको छ।