दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा अब एकैपटक १२ वटासम्म शव राख्न सकिने भएको छ। यसअघि प्रतिष्ठानको शव गृहमा चारवटा मात्रै शव राख्न सकिने क्षमता रहेकोमा त्यसलाई विस्तार गरी १२ वटासम्म शव राख्न सकिने बनाइएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शव राख्न सकिने क्षमतासहितको नयाँ शव गृह निर्माण तथा विद्यमान शव गृह विस्तार गर्न देशभरका स्वास्थ्य संस्थालाई परिपत्र गरेपछि प्रतिष्ठानले पनि सोहीअनुसार योजना अघि बढाउने तयारी गरेको हो। बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा एकैपटक ठूलो संख्यामा शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले शव गृहको क्षमता बढाउने निर्णय गरेको हो। विपद्का समयमा शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने गरी पर्याप्त क्षमताको शव गृह निर्माण तथा विस्तार गर्न मन्त्रालयले स्वास्थ्य संस्थालाई पत्राचार गरेको छ। मन्त्रालयको निर्देशनअनुसार प्रतिष्ठानले आवश्यक योजना बनाएर शव गृहको क्षमता र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने तयारी गरेको रजिस्ट्रार लम्सालले बताए।