• २०८३ भाद्र ३० गते मङ्गलवार
  • Preeti To Unicode

११ दिनपछि सकुशल उद्धार भए १५ महिनाका बालक, अपहरणको आरोपमा महिला पक्राउ

११ दिनपछि सकुशल उद्धार भए १५ महिनाका बालक, अपहरणको आरोपमा महिला पक्राउ

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ। बालक अपहरण गरेको आरोपमा प्रहरीले कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कमलेश महतोका १५ महिनाका छोरा सिधान्त भदौ १८ गते अपराह्न करिब ४ः४० बजे आफ्नै घरको आँगनमा खेलिरहेका बेला हराएका थिए। बालक हराएको सूचना पाएलगत्तै प्रहरी चौकी गिद्धाबाट टोली परिचालन गरिएको थियो। खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको प्रहरी टोली परिचालन गर्नुका साथै तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनाल तथा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको कमान्डमा खटिएको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोलीले घटनाको अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा पासवानले बालकलाई अपहरण गरी स्थान परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न ठाउँमा लुकाएर राखेको खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार