• २०८३ भाद्र ३० गते मङ्गलवार
  • Preeti To Unicode

म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने दास किराना पसललाई २ लाख जरिवाना

म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने दास किराना पसललाई २ लाख जरिवाना

झापा । मेचीनगर नगरपालिका–९ स्थित दास किराना पसललाई म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय झापाले रु. २ लाख जरिवाना गरेको छ । खाद्य प्रविधि कार्यालय भद्रपुरका अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्ती नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा पसलबाट ‘शक्ति ब्रान्ड’ का बी–२१, बी–२२, बी–२३ र बी–२४ ब्याच नम्बरका १४ बोरा अर्थात् ४९० किलोग्राम म्याद नाघेको पशुदाना बरामद गरेको थियो । बरामद पशुदानाको उत्पादन मिति विसं २०८३ जेठ ६ गते र उपभोग्य अवधि ६० दिन उल्लेख गरिएको थियो । पसलले भदौ १४ गते एक बोरा पशुदाना स्थानीय जयप्रसाद आचार्यलाई बिक्री गरेको र उक्त दाना खाएपछि उनको गाई बिरामी भएको जनाइएको छ । अनुगमन प्रतिवेदनका आधारमा खाद्य सुरक्षा ऐनको दफा ३९(ज) बमोजिम पसललाई जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।

यसैबीच, बुद्धशान्ति गाउँपालिका–३ बुधबारेस्थित शिवम् ट्रेड एण्ड सप्लायर्समाथि पनि अत्यधिक मूल्यमा काँडेतार बिक्री गरेको उजुरीपछि संयुक्त अनुगमन गरिएको छ । बजारमा प्रतिकेजी रु. १२५ मा पाइने काँडेतार उक्त पसलले रु. ३६० सम्ममा बिक्री गरेको बिल तथा भुक्तानी प्रमाणसहित उजुरी परेपछि आन्तरिक राजस्व कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापाको टोलीले अनुगमन गरेको हो । अनुगमनपछि पसलका सञ्चालक नारायण कडरियालाई तीन दिनभित्र आर्थिक वर्ष २०८२/८३ का बिल–बिजक, खाता तथा अन्य कागजातसहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार