कैलाली । गौरीगंगा नगरपालिका–२ झिलमा मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय लेखराज देउवाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका बालक देउवालाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा टाउको र छातीमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महरले जानकारी दिए । दुर्घटनापछि प्रहरीले ट्रक चालक लम्कीचुहा नगरपालिका–२ का २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।