काठमाडौँ । थाइल्याण्डबाट ल्याइएको ३ किलो गाँजासहित लागु औषध नियन्त्रण ब्युरोले काठमाडौँको सोह्रखुट्टेबाट तीन जनालाई पक्राउ गरेको छ । म्यानमारकी २९ वर्षीया जिन जिन फ्योले भियतनाम हुँदै हङकङबाट काठमाडौँ ल्याएको गाँजा रिसिभ गर्न भारतबाट आएका गोरखपुरका ३० वर्षीय बरकतुल्लाह र उत्तर प्रदेशका २५ वर्षीय युसुफ खानलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भदौ २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फलो गर्दै जिन जिन फ्योलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको थियो भने उनी बसेको होटलमा गाँजा लिन पुगेका भारतीय नागरिकलाई रेकी गरी पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा जिन जिन फ्यो सिंगापुरमा सिकर्मीको काम गर्दै आएको र भियतनाममा अर्का एक म्यानमारका नागरिकले दिएको गाँजा लुकाइएको सुटकेस लिएर हङकङ हुँदै काठमाडौँ आएको खुलेको छ । बरामद गाँजा भारत पुगेपछि करिब १ करोड २० लाख रुपैयाँ पर्ने अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । पक्राउ परेका तीनै जनामाथि लागु औषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।