• २०८३ भाद्र ३० गते मङ्गलवार
  • Preeti To Unicode

जाजरकोटमा बाढी–पहिरोको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण

जाजरकोटमा बाढी–पहिरोको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौँ। नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोटमा बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बुढाले लगातारको वर्षाका कारण नागरिकले भोगिरहेको मानवीय तथा भौतिक संकटबारे सदनलाई जानकारी गराएका हुन्। उनका अनुसार नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड क्षेत्र अहिले नागरिकका लागि उच्च जोखिमको क्षेत्र बनेको छ। भदौ २९ गते ताक्सुगाडको बाढीले बगाएर बारेकोट–४ का २६ वर्षीय रमेश सुनार बेपत्ता भएका छन् भने यसअघि पनि सोही खोलाले नलगाड–११ का रतनबहादुर दमाईलाई बगाएर बेपत्ता बनाएको थियो। बाढीका कारण दर्जनौँ घर, झोलुङ्गे पुल र अस्थायी कजवेमा क्षति पुगेको छ भने भेरी करिडोरमा समेत ठूलो नोक्सानी भएको सांसद बुढाले बताए। रोली जिउलाको सिँचाइ नहर क्षतिग्रस्त हुँदा किसानको धानबालीमा समेत गम्भीर असर परेको उनको भनाइ छ। भौतिक क्षतिभन्दा नागरिकको जीवन सुरक्षाप्रति आफू बढी चिन्तित रहेको बताउँदै सांसद बुढाले पुल बगेपछि नागरिकहरू जोखिम मोलेर खोलाबाटै आवतजावत गर्न बाध्य भएको र पक्की पुल निर्माणको ठेक्का लागेको वर्षौँ बितिसक्दा पनि काम सम्पन्न नहुनु गम्भीर विषय भएको बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार