काठमाडौं । सरकारले सार्वजनिक गरेको पूँजी बजार सुधार कार्ययोजनाको सकारात्मक प्रभाव बुधबार सेयर बजारमा देखिएको छ। यस दिन बजार परिसूचक नेप्से ४८.५७ अंक अर्थात् १.८७ प्रतिशतले बढेर २ हजार ६३३ अंकमा पुगेको छ। यो भदौ १ गतेयताकै उच्च नेप्से हो। अघिल्लो दिन अर्थमन्त्री स्वर्णिम वाग्लेले हाल कायम पूँजीगत लाभकरलाई आधा घटाउनेसहित पूँजी बजार सुधारसम्बन्धी कार्ययोजना सार्वजनिक गरेपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ। कारोबार खुलेको एक मिनेटमै नेप्से २ हजार ६७९ अंकसम्म पुगे पनि त्यसपछि केही सम्हालिँदै दिउँसो १२ः५४ बजे २ हजार ६११ अंकमा झरेको थियो। करिब १ बजेपछि भने बजारले पुनः वृद्धिको लय समात्दै अन्तिम समयसम्म सकारात्मक प्रदर्शन गरेको हो। कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार ८ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जबकि अघिल्लो दिन ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो। आजको कारोबार रकम असार ३० गतेयताकै उच्च हो। यस दिन सबै समूहगत सूचक बढेका छन्। बैंकिङ १.९०, विकास बैंक १.७६, फाइनान्स २.२३, होटल तथा पर्यटन १.४२, जलविद्युत् १.८४, लगानी २.५२, जीवन बीमा २.५९, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स १.७५, निर्जीवन बीमा २.८२, अन्य २.१२ र व्यापार समूह ०.९२ प्रतिशतले बढेका छन्। कुल २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो। धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १४.९६ प्रतिशतले बढेको छ। त्यस्तै सिन्धु विकास बैंक ११.०३, मल्टिपर्पस फाइनान्स ९.७३, जानकी फाइनान्स ८.०६ र मिडसोलु हाइड्रोपावरको सेयर मूल्य ६.६७ प्रतिशतले बढेको छ। अर्कोतर्फ बोटलर्स नेपाल बालाजुको २.९७, रिलायन्स स्पिनिङ मिल्सको १.९४ र सर्वोत्तम पेन्ट्सको १.६६ प्रतिशतले मूल्य घटेको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन्।