काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बोलिरहेका बेला गृहमन्त्री सुधन गुरुङ उठेर हिँडेको विषयमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद्मा बोलिरहेका बेला गृहमन्त्री गुरुङ सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँडेको भन्दै महरले सभामुख डोलप्रसादको ध्यानाकर्षण गराएका हुन्।
महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था गरेको उल्लेख गरे। उनले उक्त नियम उल्लंघन गर्दै गृहमन्त्री बीचबाट हिँडेको भन्दै आगामी दिनमा यस्तो व्यवहार दोहोरिन नदिन सभामुखसँग आग्रह गरे।
महरले विगतमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि यही नियम उल्लंघन गरेको दाबी गरे। सदनमा सहभागी सबैले संसद्को मर्यादा र नियम पालना गर्नुपर्ने भन्दै उनले यस्तो व्यवहारले प्रतिनिधिसभाको गरिमा कायम नहुने बताए।
प्रतिनिधिसभा नियमावलीको नियम २० मा बैठकमा सदस्यहरूले पालना गर्नुपर्ने विभिन्न व्यवस्था छन्। सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान गर्नुपर्ने, बैठक स्थगित भएपछि मात्र सभामुख बाहिरिएसँगै सदस्यहरूले बैठक कक्ष छाड्नुपर्ने र सभामुखले समय दिएपछि मात्र बोल्नुपर्ने व्यवस्था छ। त्यस्तै, सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गर्नुपर्ने र सभामुखले अन्यथा आदेश नदिएसम्म तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने हुन्छ।
नियमावलीले सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा सदस्यले स्थान छाड्न नहुने तथा सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था पनि गरेको छ। कुनै सदस्यले बोलिरहेका बेला बाधा पुग्ने, बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने गतिविधि गर्न नहुनेसमेत नियममा उल्लेख छ।