• २०८३ भाद्र ३० गते मङ्गलवार
  • Preeti To Unicode

नेकपाको मंसिरमा हुने भनिएको एकता महाधिवेशन अन्योलमा

नेकपाको मंसिरमा हुने भनिएको एकता महाधिवेशन अन्योलमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आगामी मंसिर ११ देखि १५ गतेसम्म गर्ने भनिएको एकता महाधिवेशन अन्योलमा परेको छ। पार्टीभित्र पूर्वमाओवादी केन्द्र र पूर्वएकीकृत समाजवादीबीच वैचारिक, सैद्धान्तिक तथा सांगठनिक मतभेद कायमै रहनु, तल्लो तहका अधिवेशनहरू निर्धारित समयमा सम्पन्न नहुनु र सदस्यता नवीकरणको काम सुस्त हुनुका कारण महाधिवेशन तोकिएको मितिमा गर्न कठिन देखिएको हो। पार्टीका नेताहरूका अनुसार अध्यक्ष प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा छन् भने माधव नेपाल सुधारिएको संसदीय प्रणालीको पक्षमा रहेकाले राज्यको शासकीय स्वरूपमै मतभेद देखिएको छ। यता, पार्टी प्रवक्ता प्रकाश ज्वालाले भोटेकोशी–त्रिशूली बाढीका कारण वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन प्रभावित भएको बताएका छन्। पार्टीले कार्यतालिका पुनःसमायोजन गर्ने तयारी गरे पनि महाधिवेशनको मिति भने नबदल्ने दाबी गरेको छ। तर, वरिष्ठ नेता झलनाथ खनालले मंसिरमा महाधिवेशन गर्न कठिन रहेको भन्दै पहिले पार्टीको नीति, सिद्धान्त, कार्यदिशा र नेतृत्वसम्बन्धी विवाद समाधान गर्नुपर्ने बताएका छन्। नेकपाका करिब ७ लाख ५० हजार संगठित सदस्यमध्ये भदौ मसान्तसम्म करिब ३० प्रतिशतले मात्र सदस्यता नवीकरण गरेका छन्। यससँगै पार्टीका भ्रातृ संगठनहरू अझै पूर्वपार्टीकै ब्यानरमा सक्रिय हुनु र नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको विवाद चर्किनुले नेकपाको एकता महाधिवेशन थप चुनौतीपूर्ण बनेको देखिन्छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार