काठमाडौँ । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले तत्काल सुधारको बाटो समात्नुपर्नेमा जोड दिइन्। उनले कर्णाली र तराईका विभिन्न क्षेत्रमा सडक सञ्जालको अवस्था नाजुक रहेको उल्लेख गर्दै सडक निर्माणका क्रममा अवैज्ञानिक तरिका अपनाउँदा स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको बताइन्। कालीकोट र दैलेखको सीमामा पर्ने सडक सञ्जालमा आवश्यक संरचना निर्माण गर्नुपर्नेमा उल्टै भत्काउने काम भइरहेको भन्दै उनले तत्काल सडक विभाग स्थापना गर्न सरकारसँग माग गरिन्। साथै, विद्युतका नाङ्गा तारका कारण मानिसले अकालमै ज्यान गुमाइरहेको र विभिन्न स्थानमा विद्युतका पोलहरू ढलेको अवस्थामा समेत सरकार मौन रहेको भन्दै उनले असन्तुष्टि जनाइन्। सरकारले आधुनिक युगको कुरा गरे पनि देशको वास्तविक अवस्था गम्भीर रहेको टिप्पणी गर्दै उनले भनिन्, ‘सरकार आधुनिक जमानाको कुरा गर्छ, हामीले कहाँ छौँ भनेर ऐना हेर्ने हो कि ?’