काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संसद् अत्यधिक एआईमय बन्दै गएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसदहरूले सरकारबाट आएका प्रस्तावको समर्थन वा विरोधमा मात्रै सीमित नभई आफ्नो विवेक, ऊर्जा र समय देश तथा नागरिकका लागि प्रयोग गर्नुपर्ने बताए । “अहिले संसद् यति एआईमय भएको छ कि अब संसद्मा कसैले ‘ओई म एआई हुँ रे’ भन्न मात्रै बाँकी छ,” भन्दै उनले प्रविधिको प्रयोगसँगै सांसदहरूको आफ्नै सोच र विवेकलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले संसद्को दोस्रो अधिवेशनको उत्तरार्धमा आइपुग्दा सोच, प्रविधि र काम गर्ने साधनमा परिवर्तन आवश्यक रहेको बताए । परिवर्तन नगरे आगामी अधिवेशनहरू पनि विगतका अधिवेशनजस्तै बित्ने र वर्षहरू त्यसै खेर जाने उनको भनाइ थियो ।