• २०८३ भाद्र ३० गते मङ्गलवार
  • Preeti To Unicode

अवकाशको मुखमा कास्कीका प्रमुख न्यायाधीश बेलबासे उच्च अदालत जनकपुरमा सिफारिस

अवकाशको मुखमा कास्कीका प्रमुख न्यायाधीश बेलबासे उच्च अदालत जनकपुरमा सिफारिस

काठमाडौँ । जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश हिमलाल बेलबासे ६३ वर्षे उमेर हदका कारण नियमित अवकाशमा जान लागेका बेला न्याय परिषद्ले उनलाई उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस गरेको छ । २०२० साल असोज ४ गते जन्मेका बेलबासे जिल्ला न्यायाधीशको बरियात सूचीमा १३औँ स्थानमा छन् । उच्च अदालतमा रिक्त पाँच पदमध्ये न्याय परिषद्को बैठकले बेलबासेसहित सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । कास्की जिल्ला अदालतमा रहँदा बेलबासेको एकल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गर्न अनुमति दिएको थियो । सुशीला कार्की नेतृत्वको सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध देशभरका अदालतमा दर्ता भएका मुद्दा संशोधन गर्ने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत पेश गरिएको अभियोग संशोधनलाई बेलबासेको इजलासले सदर गरेको थियो । संशोधनपछि लामिछानेविरुद्ध कास्कीमा सहकारी ठगीसम्बन्धी अभियोग मात्रै बाँकी रहेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार