काठमाडौँ । हवाई पूर्वाधार र सेवा विस्तारसँगै यात्रुको सुरक्षा, सेवाको गुणस्तर, समयपालना तथा क्षतिपूर्तिको कानुनी प्रत्याभूति सुनिश्चित गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको छलफलका क्रममा सांसदहरुले उडान रद्द वा ढिलाइ हुँदा यात्रुलाई वैकल्पिक व्यवस्था र उचित क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था कानुनमै स्पष्ट गर्नुपर्नेमा जोड दिएका हुन्।
सांसदहरुले दुर्घटनामा यात्रु घाइते वा मृत्यु भएमा उचित क्षतिपूर्ति, लगेज तथा मालसामानको सुरक्षा र तेस्रो पक्षको दायित्वलाई पनि प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन्। उनीहरुले कानुन निर्माणसँगै वायुसेवा कम्पनीमाथि कडा नियमन र हवाई पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक सम्भाव्यतालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन्।
नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले हवाई क्षेत्रमा भएको विस्तारसँगै सम्भावित जोखिम व्यवस्थापन र वायुसेवा प्रदायकको जिम्मेवारी पनि बढाउनुपर्ने बताए। अहिले देशभर करिब ३५ वटा विमानस्थल सञ्चालनमा रहेको र आधा दर्जन विमानस्थलमा रात्रिकालीन उडान भइरहेको उल्लेख गर्दै उनले यात्रु सुरक्षासम्बन्धी कानुनी व्यवस्थालाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए। पूर्वाधार र सेवाको विस्तारसँगै यात्रुको सुरक्षा, सेवाको नियमितता र गुणस्तर अभिवृद्धि पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो। उनले उडान रद्द वा ढिलाइ हुँदा यात्रुले पाउने क्षतिपूर्तिको व्यवस्था कानुनमै सुनिश्चित गर्नुपर्ने बताए।नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले आन्तरिक हवाई सेवामा यात्रुको समयको महत्व