काठमाडौं । सरकारले आमाको प्रसूति बिदा हालको ९० दिनबाट बढाएर कम्तीमा ६ महिना र बुबाको प्रसूति स्याहार बिदा १५ दिनबाट बढाएर ४२ दिन पुर्याउने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न विधेयक तयार भइसकेको छ। अब उक्त विधेयक मन्त्रिपरिषद्मा पेस गरी स्वीकृतिपछि संसद्मा लैजाने तयारी गरिएको छ।
प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको मन्त्री गौतमले बताएकी छन्। उनका अनुसार सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन हुनेछ।
बदलिँदो जीवनशैली, व्यस्तता र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका बेला नवजात शिशु तथा परिवारका लागि अभिभावकलाई पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको मन्त्रालयले जनाएको छ। बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभई आमाबुबा दुवैको साझा दायित्व भएकाले बुबालाई समेत पर्याप्त स्याहार बिदा दिने व्यवस्था गर्न लागिएको हो।