काठमाडौं । नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोज्ने बताएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेको स्टाटसपछि धेरैले रञ्जिता डिभोर्सको तयारीमा रहेको अनुमान गरे पनि उनले भने आफूले डिभोर्सका लागि नभई बहुविवाहसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरेको स्पष्ट पारेकी छन्।रञ्जिताले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिन्न, कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ । तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन।’
यस विषयमा प्रतिक्रिया दिँदै रञ्जिताले आफू लामो समयदेखि मौन बसे पनि पछिल्लो घटनाक्रमले थप पीडा दिएको बताइन्। उनका अनुसार उनी रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा छिन्।रञ्जिता रेशमकी पहिलो पत्नी हुन्। उनीहरूका एक छोरा छन्। समाचारअनुसार रेशम र आशा चौधरीबीच पनि सम्बन्ध रहेको र उनीहरूका एक छोरी छन्। पछिल्लो समय रेशम र रञ्जिताबीच राजनीतिक तथा पारिवारिक सम्बन्धमा दूरी बढेको बताइएको छ। उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन्।रञ्जिता काठमाडौंमा छोरासँग बस्दै आएकी छन् भने रेशम बर्दियामा आशा र छोरीसँग बस्दै आएको समाचारमा उल्लेख छ। आशाले रेशमसँगका विभिन्न भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएकी छन्। पछिल्लो एउटा भिडियोमा उनले आफूलाई रेशमको ‘एक्लो बुढी’ भएको संकेत गरेकी थिइन्।
समाचारमा रेशम र आशाको विवाह दर्ता नभएको उल्लेख गरिएको छ। रञ्जितासँग सम्बन्धविच्छेद नगरी अर्को विवाह गरेको प्रमाणित भएमा त्यसले कानुनी प्रश्न उठाउन सक्ने भएकाले रञ्जिताले कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ।रेशम र आशाबीच विवाह दर्ताका लागि प्रयास भइरहेको सूचना पाएपछि आफूले बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको रञ्जिताको भनाइ छ। यद्यपि, यस विषयमा अन्तिम कानुनी निष्कर्ष सम्बन्धित निकाय वा अदालतको प्रक्रियाबाट तय हुनेछ।