काठमाडौं । संघीय संसद् सचिवालयले संसदीय सूचना, सेवा, अभिलेख तथा गतिविधिलाई व्यवस्थित, सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले नयाँ ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ। हाल परीक्षणको चरणमा रहेको उक्त प्लेटफर्मको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुभारम्भ गरेका हुन्।शुभारम्भ कार्यक्रममा सभामुख अर्यालले संसद्सम्बन्धी सूचना, विधेयकको अवस्था, संसदीय क्यालेन्डर, सांसदहरूको उपस्थिति तथा समिति र उपसमितिका विवरणलाई एउटै डिजिटल प्लेटफर्ममा समेटिएको जानकारी दिए।
उनले नेपालको संसदीय इतिहाससँग सम्बन्धित पुराना ढड्डा तथा दस्तावेजलाई डिजिटलाइज गरी दीर्घकालसम्म सुरक्षित राख्न र अध्ययन–अनुसन्धानलाई सहज बनाउन पनि प्लेटफर्मले महत्वपूर्ण भूमिका खेल्ने बताए।सभामुख अर्यालले व्यवस्थापिका मात्र नभई कार्यपालिका, न्यायपालिका तथा तीनै तहका सरकारलाई पारदर्शी, नागरिकमुखी र जनताको विश्वास जगाउने दिशामा अघि बढाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको धारणा राखे।त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद्, संसदीय समिति र सचिवालयका कामकारबाहीलाई परम्परागत कागजी प्रणालीबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्दा काम छिटो, पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन सहज हुने बताए।
संसद्मा युवा पुस्ताको उपस्थिति बढ्दै गए पनि कागजी दस्तावेज पढ्ने पुरानो अभ्यास अझै कायम रहेको उल्लेख गर्दै उनले सांसद तथा कर्मचारीलाई डिजिटल प्रणाली प्रयोगका लागि उच्चस्तरीय र व्यावहारिक अभिमुखीकरण आवश्यक रहेको बताए।अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय स्तरको तुलनामा नेपालको डिजिटल संसदीय अभ्यास प्रारम्भिक चरणमा रहे पनि देशको वस्तुस्थिति र आवश्यकतालाई ध्यानमा राखेर डिजिटल प्रणालीलाई चरणबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। नयाँ प्लेटफर्ममार्फत संसदीय सूचना तथा अभिलेखमा पहुँच सहज हुनुका साथै संसद्को कामकारबाहीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।