बाढीले माथिल्लो त्रिशूली–१ मा ठूलो क्षति, ३९ को मृत्यु पुष्टि

बाढीले माथिल्लो त्रिशूली–१ मा ठूलो क्षति, ३९ को मृत्यु पुष्टि

काठमाडौँ । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४३९ जना अझै सम्पर्कविहीन रहेका छन् । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले आयोजनास्थलमा व्यापक क्षति पुर्‍याएपछि खोज तथा उद्धार कार्य जारी छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका अनुसार बाढीका समयमा आयोजनास्थलमा नेपाली, कोरियाली, चिनियाँ र भारतीयसहित करिब १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए । तीमध्ये ८७७ जनाको सकुशल उद्धार भएको छ भने ७८ जना सम्पर्कमा आएका छन् । बाँकी ४३९ जनाको खोजी भइरहेको छ । सुरुङ, भूमिगत विद्युत्गृह तथा अन्य संरचनाभित्र मानिस पुरिएको हुनसक्ने आशंकामा भग्नावशेष र लेदो हटाउने काम तीव्र पारिएको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली परिचालन गरिएको छ भने तालिमप्राप्त कुकुर र पर्वतारोही उद्धार टोलीसमेत खटाइएको छ । बाढीले सडक सञ्जाल बगाएपछि हेलिकप्टरमार्फत मिनी एस्काभेटर, जेनेरेटर तथा ग्यास–कटिङ उपकरण आयोजनास्थलमा पुर्‍याएर भग्नावशेष हटाउने काम भइरहेको कम्पनीले जनाएको छ । मैलुङस्थित क्याम्पमा थुप्रिएको लेदो हटाउने तथा जमेको पानी निकास गर्ने कार्यसमेत जारी छ । बाढीबाट निकालिएका शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुरस्थित सेनाको क्याम्पमा पुर्‍याएर आफन्तलाई पहिचान तथा सनाखतका लागि सहजीकरण गरिएको छ । कम्पनीले मृतकका परिवारलाई काजक्रिया खर्च उपलब्ध गराउनुका साथै सम्पर्कविहीनका परिवारलाई मनोसामाजिक परामर्श र नियमित सूचना दिने व्यवस्था मिलाएको जनाएको छ । भौगोलिक विकटता, सञ्चार तथा आवासको अभाव र थप पहिरोको जोखिमका बाबजुद उद्धार टोलीले बेपत्ताको खोजीलाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार