पोखरा । दिउँसो आकर्षक देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख टर्मिनल भवन धेरैका लागि तस्वीर खिच्ने आकर्षणको केन्द्र बन्ने गरेको छ । तर, यही भवन साँझ र रातिमा दुई भागमा विभाजितजस्तो देखिन्छ । पश्चिमतर्फको भाग झलमल्ल बत्तीले उज्यालो हुन्छ भने पूर्वी भागमा बत्ती नबल्दा अँध्यारो देखिन्छ ।
विमानस्थलको अवस्थालाई झल्काउन यो दृश्य नै पर्याप्त देखिन्छ । मुख्य टर्मिनल भवनको उज्यालो भागमा मानिसहरूको आउजाउ देखिन्छ । त्यो आन्तरिक उडानका लागि प्रयोग हुने आगमन तथा प्रस्थान कक्ष हो । तर, अँध्यारो देखिने पूर्वी भाग अन्तर्राष्ट्रिय टर्मिनलका लागि छुट्याइएको छ । अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा उक्त भागबाट यात्रुको आवागमन हुँदैन र ढोकामा तालासमेत लगाइएको हुन्छ ।
विमानस्थलको प्रमुख भवनजस्तै अन्तर्राष्ट्रिय उडान भर्ने सपनासहित निर्माण गरिएको यसको भविष्य पनि लामो समयसम्म आधा उज्यालो, आधा अँध्यारोजस्तै देखियो । लामो संघर्ष, आन्दोलन र दबाबपछि निर्माण भएको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा यो आन्तरिक उडानमै सीमित रहँदै आएको छ ।
तामझामका साथ उद्घाटन गरिएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पोखरेली नागरिकसँगै विमानस्थल निर्माणका लागि आवाज उठाउनेहरूमा पनि निराशा छाएको थियो । विमानस्थललाई केन्द्रमा राखेर लगानी गरेका व्यवसायीमा समेत अन्योल बढ्दै गएको थियो । कहिले भूराजनीतिक प्रभाव त कहिले भ्रष्टाचारसम्बन्धी विवादले विमानस्थलको भविष्यप्रति थप प्रश्न उठाउँदै आएको थियो ।
फ्लाई दुबईले जगाएको आशाको दियो
सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसयता केही चार्टर उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बन्न सकेको थिएन । हिमालयन एयरलाइन्सले चीनको तिब्बती सहरमा नियमित उडान गर्ने बताए पनि त्यो योजना सफल हुन सकेन ।
तर, अहिले भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यलाई लिएर नयाँ आशा पलाएको छ । लामो समयदेखि अन्योल र निराशाको बादलमा रहेको विमानस्थलमा यूएईको फ्लाई दुबईले उडान गर्ने तयारीले आशाको नयाँ दियो बालेको छ । २३ सेप्टेम्बरदेखि फ्लाई दुबईले पोखराबाट उडान गर्ने भएपछि पोखरेली नागरिक तथा व्यवसायी उत्साहित देखिएका छन् ।
नेपालको ठूलो श्रमशक्ति रहेको मध्यपूर्वसँग जोडिन तथा संसारका विभिन्न देशका लागि महत्वपूर्ण ट्रान्जिट बन्दै गएको दुबईसँग पोखरालाई सिधा जोड्ने उडान नियमित हुन सके त्यसबाट ठूलो लाभ लिन सकिने विश्वास पोखरेलीको छ । पर्यटन, व्यापार तथा रोजगारीका लागि विदेश आवतजावत गर्ने यात्रुलाई समेत यसले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पोखरेलीको यो अपेक्षालाई हौसला दिने गरी तीनै तहका सरकार तथा फ्लाई दुबईले पनि नियमित उडान सञ्चालनका लागि चासो देखाएका छन् । दुबईसँगको हवाई सम्पर्क सफल भएमा भारत, चीनलगायत सार्क क्षेत्रका अन्य मुलुकसँग पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोडिने सम्भावनाको ढोका खुल्ने विश्वास गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार दुबईसँगको हवाई सम्पर्कले पोखरा विमानस्थलका लागि नयाँ सम्भावना सिर्जना गर्न सक्छ । उनका अनुसार दुबई उडान सफल र नियमित बनाउन सकिए त्यसले भारत, चीनलगायत सार्कका अन्य राष्ट्रमा समेत अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढाउन सक्छ ।
यसरी लामो समयसम्म आधा उज्यालो, आधा अँध्यारो देखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नयाँ आशा जगाएको छ । अब यो आशालाई नियमित अन्तर्राष्ट्रिय उडानमा परिणत गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयले विमानस्थलको आगामी भविष्य निर्धारण गर्नेछ ।