खेल्दै, रमाउँदै सिक्न थाले तेह्रथुमका बालबालिका

खेल्दै, रमाउँदै सिक्न थाले तेह्रथुमका बालबालिका

तेह्रथुम । कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै बालबालिकाको ध्यान भित्तामा टाँसिएका रंगीन अक्षर, चित्र र शैक्षिक सामग्रीतर्फ जान्छ। कोही चित्र हेर्दैछन्, कोही खेल्दै सिकिरहेका छन् भने कोही स्मार्टबोर्डमा देखाइएका सामग्री नियाल्दै रमाइरहेका छन्। पढाइलाई खेल र मनोरञ्जनसँग जोडिएको वातावरणले बालबालिकालाई विद्यालय आउन उत्साहित बनाएको छ।

तेह्रथुमका सामुदायिक विद्यालयमा सञ्चालित बालकक्षाको स्वरूप पछिल्लो समय बदलिन थालेको छ। तीनदेखि चार वर्ष उमेर समूहका बालबालिकालाई विद्यालय जाने बानी बसाल्ने उद्देश्यले स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घ–संस्थाको साझेदारीमा बालकक्षालाई व्यवस्थित र बालमैत्री बनाउने अभियान अघि बढाइएको हो। यसअन्तर्गत बालबालिकाको उमेर, रुचि र सिकाइ क्षमताअनुसार कक्षाकोठामा विभिन्न शैक्षिक सामग्री, चित्र, खेलौना तथा प्रविधिको प्रयोग बढाइएको छ।

छथर गाउँपालिका–२ खैरेनीस्थित जनज्योति आधारभूत विद्यालयको बालकक्षा यसको उदाहरण हो। कक्षाकोठालाई बालबालिकाले रमाउँदै सिक्न सक्ने गरी विभिन्न शैक्षिक सामग्री र चित्रहरूले सजाइएको छ। प्रविधिको प्रयोगसमेत बढाइएको छ। बालशिक्षक गोमादेवी पाण्डेका अनुसार विगतको तुलनामा अहिले बालकक्षाको सिकाइ पद्धतिमा निकै परिवर्तन आएको छ। ‘पहिलेको सिकाइभन्दा अहिले धेरै फरक भएको छ,’ उनी भन्छिन्, ‘स्मार्टबोर्डमा देखाएर सिकाउँदा बालबालिकालाई बुझ्न र सिक्न सहज भएको छ।’

बालकक्षामा केवल पाठ्यसामग्रीमा आधारित सिकाइलाई प्राथमिकता दिइएको छैन। बालबालिकाको बसाइ व्यवस्थापन, खेल्ने ठाउँ, चित्र, अक्षर, गीत, कथा तथा विभिन्न गतिविधिलाई सिकाइको माध्यम बनाइएको छ। हेरेर, सुनेर, खेलेर र प्रयोग गरेर सिक्ने अवसर पाएपछि बालबालिकामा सिकाइप्रतिको रुचि बढेको शिक्षकहरूको अनुभव छ।

शिक्षक टिका गुरुङका अनुसार प्रविधि र बालमैत्री सामग्रीको प्रयोगले सिकाइ प्रक्रिया सहज बनाएको छ। उनका अनुसार विगतमा बालबालिकालाई पेन्सिल समाउन सिकाएर लेख्न लगाउनुपर्ने अवस्था थियो। अहिले स्मार्ट टिभी, भित्तामा लेखिएका अक्षर, चित्र तथा अन्य शैक्षिक सामग्रीमार्फत अक्षर चिनाउने र सिकाउने काम सहज भएको छ। ‘पहिले चकको प्रयोग बढी हुन्थ्यो। त्यसबाट शिक्षक र विद्यार्थी दुवैलाई स्वास्थ्यमा असर पर्ने अवस्था थियो,’ उनी भन्छिन्, ‘अहिले प्रविधिको प्रयोगसँगै सिकाइ र कक्षा व्यवस्थापन दुवै सहज भएको छ।’

बालकक्षामा आएको परिवर्तन कक्षाकोठाको सजावटमा मात्र सीमित छैन। बालबालिकालाई सानै उमेरदेखि विद्यालयसँग परिचित गराउने र विद्यालयप्रति सकारात्मक धारणा विकास गराउने प्रयासका रूपमा समेत यसलाई लिइएको छ। गीत सुन्ने, चित्र हेर्ने, कथा सुन्ने, खेल्ने, नाचगान गर्ने तथा विभिन्न गतिविधिमा सहभागी हुने अवसर पाएपछि बालबालिका विद्यालयमा रमाउन थालेका छन्। उनीहरूको दैनिक व्यवहार र रुचिसँग सिकाइलाई जोड्ने प्रयासले कक्षामा बालबालिकाको सक्रियता बढाएको शिक्षकहरू बताउँछन्।

स्थानीय तहले पनि बालकक्षालाई विद्यालय शिक्षाको महत्वपूर्ण आधारका रूपमा लिँदै आएको छ। सामाजिक सङ्घ–संस्थासँगको साझेदारीमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने, कक्षाकोठा व्यवस्थापन गर्ने र बालमैत्री वातावरण निर्माण गर्ने काम अघि बढाइएको छ। सानो उमेरमै विद्यालयसँग जोडिने बालबालिकाका लागि पहिलो अनुभव महत्वपूर्ण हुने भएकाले त्यसलाई रमाइलो, सुरक्षित र सिकाइमैत्री बनाउने प्रयास गरिएको हो।

रंगीन चित्रले भरिएका भित्ता, खेलौनासहितको सिकाइ, गीत–कथा र प्रविधिको प्रयोगले तेह्रथुमका सामुदायिक विद्यालयका बालकक्षामा नयाँपन ल्याएको छ। बालबालिकाका लागि विद्यालय अब पढ्न जाने ठाउँ मात्र नभई खेल्दै, रमाउँदै र आफ्नै तरिकाले संसार चिन्न थाल्ने पहिलो थलोका रूपमा विकास हुँदै गएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार