काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोग निको पार्ने भन्दै गरिने भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। परिषद्ले जारी गरेको सूचनामा क्यान्सर, पाइल्सलगायत विभिन्न रोग शतप्रतिशत निको पार्ने तथा उपचारबाट लाभ नभए पैसा फिर्ता हुनेजस्ता दाबी गर्दै औषधिको प्रचार गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकाले गैरकानुनी र भ्रामक विज्ञापन तथा प्रचारप्रसार तत्काल रोक्न परिषद्ले अनुरोध गरेको हो। परिषद्का अनुसार कानुनविपरीत सञ्चालन भइरहेका यस्ता गतिविधि १५ दिनभित्र बन्द गर्न वा गराउनुपर्नेछ। सूचनाको अवज्ञा गरी यस्ता अवाञ्छनीय गतिविधि सञ्चालन गरेको पाइएमा सम्बन्धित पक्षमाथि कानुनबमोजिम कारबाही गरिने परिषद्ले जनाएको छ।