संसद् भवनको अस्थायी क्यान्टिन बन्द, सांसदले उठाएको मूल्यको प्रश्नपछि संरचना हटाइयो

संसद् भवनको अस्थायी क्यान्टिन बन्द, सांसदले उठाएको मूल्यको प्रश्नपछि संरचना हटाइयो

काठमाडौं । नयाँ संसद् भवनमा अस्थायी रूपमा सञ्चालन गरिएको क्यान्टिन बुधबारदेखि बन्द गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले मंगलबार प्रतिनिधिसभाको बैठकमै क्यान्टिनमा चिया, मम, चाउमिनलगायतका खानेकुराको मूल्य महँगो भएको भन्दै प्रश्न उठाएका थिए। उनले कालो चिया १ सय रुपैयाँ, दूध चिया २ सय, मम ३ सय, चाउमिन ४ सय र पाउरोटी ५ सय रुपैयाँ पर्ने दाबी गर्दै संसद् भवनको बरण्डामा ‘फाइभस्टार होटल’ सञ्चालन गरिएको भन्दै त्यसलाई हटाउन माग गरेका थिए।

संसद् बैठकमा प्रश्न उठेपछि नयाँ भवनमा अस्थायी रूपमा राखिएको क्यान्टिन बन्द गरिएको हो। क्यान्टिनका कर्मचारी राजकाजी महर्जनका अनुसार यो व्यवस्थापनको निर्णय हो र साविकको स्थानमा रहेको क्यान्टिन भने नियमित रूपमा सञ्चालन भइरहेको छ। उनले सांसद सुनारले उल्लेख गरेको मूल्यमा सत्यता नभएको दाबी गर्दै मेन्युमा तोकिएको मूल्यभन्दा बाहिर गएर कुनै शुल्क नलिइएको बताए। अस्थायी क्यान्टिन अब कहिले पुनः सञ्चालन हुन्छ वा यसको व्यवस्थापनबारे के निर्णय हुन्छ भन्ने विषयमा भने सञ्चालक पक्षले स्पष्ट जानकारी दिएको छैन।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार