काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा पालुङ–माझफाल हुँदै रुकुमसम्म जोड्ने मोटरबाटो निर्माणका लागि गरिएको ठेक्का प्रक्रियामा अनियमितता भएको हो। कम रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिनुपर्नेमा उक्त कम्पनीलाई अयोग्य ठहर गरी बढी रकम कबोल गर्ने छल निर्माण सेवा प्रालिलाई ठेक्का दिइएको अख्तियारको आरोप छ।
करिब ३४ लाख रुपैयाँ कबोल गर्ने कम्पनीलाई अयोग्य ठहर गर्दै १ करोड ८ लाख रुपैयाँ कबोल गर्ने छल निर्माण सेवा प्रालिलाई ठेक्का दिँदा सार्वजनिक रकममा हानि पुगेको अख्तियारको दाबी छ।
मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन इञ्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा र एमआईएस अपरेटर हरिचन्द्र बिष्ट रहेका छन्। त्यस्तै, सडक निर्माणको बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ र छल निर्माण सेवा प्रालिका सञ्चालक दिपचन्द्र रोकायाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारले ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक रकममा हानि पुर्याएको आरोपमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कानुनी कारबाही अघि बढाएको हो।