काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने भन्दै सम्भावित प्राकृतिक विपद्बाट जोगिन आवश्यक पूर्वतयारी र सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको हो।
जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्न सक्ने जनाएको छ। वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिरालो भूभाग तथा डुबान सम्भावित क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
मन्त्रालयले विपद्को जोखिम देखिएमा तत्काल नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ। अत्यावश्यक नपरी लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्था बुझ्नसमेत आग्रह गरिएको छ।
त्यस्तै, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ। पशुपन्छी, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्नसमेत मन्त्रालयले आग्रह गरेको छ।
प्रदेश सरकारले मातहतका सबै निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन निर्देशन दिएको छ। जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत सम्बन्धित निकायलाई आग्रह गरिएको मन्त्रालयले जनाएको छ।