आगामी पाँच दिन नदीमा बहाव बढ्ने, साना नदीमा आकस्मिक बाढीको जोखिम

आगामी पाँच दिन नदीमा बहाव बढ्ने, साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाका कारण असोज ८ गतेदेखि कोशी, कन्काई र कमला नदीमा जलसतह उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ। असोज ९, १० र ११ गते देशभरका अधिकांश प्रमुख नदीमा पानीको बहाव बढ्ने तथा विभिन्न स्थानका साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ। आज मध्य तथा पूर्वी नेपालका विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही साना नदीमा भोलि बहाव अचानक बढ्न सक्ने तथा असोज ९ गते सातै प्रदेशका केही साना नदीमा पनि यस्तो जोखिम रहने बताइएको छ। नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा हेरी जोखिम बढे सुरक्षित स्थानमा जान महाशाखाले सुझाव दिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार