काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछि पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताएकी छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
सांसद बुढामगरले बाढी प्रभावित क्षेत्रमा आफ्नो दलसम्बद्ध युवा संगठनका सदस्यहरू सुरुदेखि नै उद्धार तथा राहत वितरणमा सक्रिय रहेको बताइन्। उद्धारका क्रममा फेला परेको सुनलगायत धनमाल सम्बन्धित पीडितलाई बुझाएर युवाहरूले इमानदारीको उदाहरण प्रस्तुत गरेको उनको भनाइ थियो।उनले माटो र बेल्चा नछोई देशको विकास सम्भव नहुने भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्रै देश निर्माण नहुने धारणा राखिन्। देश निर्माणमा राज्यको संयन्त्रसँगै जनताको सक्रिय सहभागिता पनि आवश्यक रहेको उल्लेख गर्दै उनले भनिन्, ‘देश निर्माणका लागि केवल राज्यको संयन्त्र मात्र पर्याप्त हुँदैन, जनताको सक्रिय सहभागिता अनिवार्य हुन्छ।’
विगतमा ‘सहिद मार्ग’ निर्माण गर्दा जनताले आफ्नै पाखुरीको बलमा काम गरेको स्मरण गराउँदै बुढामगरले त्यही श्रम र सहभागिताको संस्कारलाई पुनः ब्युँत्याउनुपर्ने बताइन्। हालको सरकार युवा शक्तिको बलमा बनेको उल्लेख गर्दै उनले सोही युवा शक्तिलाई राष्ट्र निर्माणका काममा परिचालन गर्न सरकारसँग आग्रह गरिन्।विपद्को समयमा केवल राहतको प्रतीक्षा गरेर बस्नुभन्दा सामूहिक जनश्रमदानमार्फत भत्किएका संरचनाको पुनर्निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै उनले यस विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराइन्।