काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्। आजकै बैठकमा विधेयक पेस गर्न अनुमति मागेको प्रस्ताव स्वीकृत भएपछि मन्त्री लम्सालले विधेयक प्रस्तुत गरेका हुन्। विधेयक प्रस्तुत गर्दै उनले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, स्रोतको परिचालन तथा स्वच्छ वातावरण निर्माणका लागि विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
मन्त्री लम्सालले फोहोरमैलाको उत्सर्जन, सङ्कलन, विसर्जन तथा समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको भूमिका तथा जिम्मेवारी स्पष्ट पार्न विधेयक आवश्यक रहेको बताए। उनका अनुसार फोहोरलाई अब फोहोरका रूपमा मात्र नभई स्रोत र साधनका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता छ। यसका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको उनले उल्लेख गरे।
विधेयकको मुख्य उद्देश्य फोहोरमैलाको समुचित व्यवस्थापनमार्फत स्वच्छ र स्वस्थ वातावरण कायम गर्नु रहेको मन्त्री लम्सालले बताए। मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्दै चक्रीय अर्थतन्त्रको अवधारणाअनुरूप फोहोरमैला प्रशोधन गरी पुनः स्रोतसाधनका रूपमा उपयोग गर्ने व्यवस्था विधेयकमा समेटिएको उनले जानकारी दिए।फोहोरमैला व्यवस्थापनलाई दिगो र व्यवस्थित बनाउन संघीय कानुन आवश्यक रहेकाले सोही आवश्यकता सम्बोधन गर्न विधेयक संसदमा प्रस्तुत गरिएको मन्त्री लम्सालले बताए। उनले विधेयकले फोहोरमैला व्यवस्थापनमा देखिएका विद्यमान कानुनी तथा प्रशासनिक जटिलता समाधान गर्दै व्यवस्थापन प्रणालीलाई थप चुस्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।