भोटेकोशी बाढी: सुरुङमा फसेकाको खोज तथा उद्धारमा सम्पूर्ण सामर्थ्य परिचालन

भोटेकोशी बाढी: सुरुङमा फसेकाको खोज तथा उद्धारमा सम्पूर्ण सामर्थ्य परिचालन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले भदौ १० गते आएको भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनाका सुरुङमा फसेका कर्मचारीको खोज तथा उद्धारका लागि सरकारले सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयका कामकारबाही तथा भोटेकोशी बाढीबाट जलविद्युत क्षेत्रमा परेको क्षतिबारे जानकारी गराउँदै मन्त्री श्रेष्ठले खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको बताए।

मन्त्री श्रेष्ठले सरकारले हार नमानिसकेको उल्लेख गर्दै सम्भावनाको अन्तिम ढोकासम्म पुगेर खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको बताए। उनका अनुसार सरकारको पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु हो। साथै, घाइतेको उपचार, विस्थापित परिवारको पुनर्स्थापना तथा बाढीबाट क्षतिग्रस्त विद्युत्, सडक र पुललगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माणमा पनि सरकार केन्द्रित रहेको उनले बताए।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई पुनः सामान्य दैनिकीमा फर्काउन सरकारका तर्फबाट आवश्यक प्रयास भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार