काठमाडौँ । युवा राजनीतिक अभियन्ता मिराज ढुंगानाले निर्वाचनका बेला नेपाली कांग्रेसलाई दिएको समर्थन तत्कालीन राजनीतिक परिस्थितिको आवश्यकता भएको बताएका छन्। उनले त्यतिबेला अराजक र अराजनीतिक शक्तिलाई रोक्न कांग्रेसलाई ‘औजार’का रूपमा समर्थन गरिएको भए पनि अहिलेको राजनीतिक समस्याको समाधान कांग्रेसबाट हुन नसक्ने धारणा व्यक्त गरेका छन्।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढुंगानाले निर्वाचनका बेला कांग्रेसलाई अराजक समूह रोक्ने माध्यमका रूपमा प्रयोग गरिएको बताएका हुन्। उनले उक्त समर्थन कुनै दलप्रतिको स्थायी राजनीतिक समर्थन नभई तत्कालीन परिस्थितिमा आवश्यक परेको ‘आपत्कालीन समर्थन’ भएको स्पष्ट पारेका छन्। उनका अनुसार त्यस्तो समर्थन नगरेको अवस्थामा देश र राष्ट्रियता थप संकटमा पर्न सक्ने अवस्था थियो।ढुंगानाले पुराना राजनीतिक दलको नेतृत्व परिवर्तन हुँदैमा मात्रै राजनीतिक पद्धतिमा परिवर्तन नआउने तर्क गरेका छन्। दशकौँदेखि सत्तामा रहेका दलहरूसँग विद्रोहपछिको रूपान्तरण, विकास र समृद्धिका लागि आवश्यक स्पष्ट कार्यदिशा नरहेको उनको दाबी छ। साथै, ती दलहरूलाई जनतासामु जाने नैतिक आधारसमेत कमजोर हुँदै गएको उनले बताएका छन्।यद्यपि लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूको अस्तित्व स्वीकार गर्नुपर्ने उनको भनाइ छ। उनले लोकतन्त्रमा विद्यमान राजनीतिक शक्तिहरूको अस्तित्व अस्वीकार गर्न नसकिने भन्दै नयाँ राजनीतिक बहस र विकल्प निर्माणको आवश्यकता औँल्याएका छन्।
‘थर्ड पोल’ एउटा दल नभई वैकल्पिक राजनीतिक धार हुनुपर्छ
ढुंगानाले अब देशलाई वास्तविक राजनीतिक विकल्प दिन व्यापक राजनीतिक छलफल आवश्यक रहेको बताएका छन्। उनका अनुसार ‘थर्ड पोल’ वा ‘वास्तविक वैकल्पिक शक्ति’लाई एउटा राजनीतिक दल वा संगठनमा मात्र सीमित गरेर बुझ्नु उचित हुँदैन।उनले ‘थर्ड पोल’लाई वैचारिक राजनीतिक धारका रूपमा विकास गर्नुपर्ने बताएका छन्। यस्तो धारले नेपालमा देखिएको निराशा र विद्यमान राजनीतिक अन्तर्विरोधको समाधान खोज्दै समयसापेक्ष विकास, रूपान्तरण र समृद्धिको स्पष्ट बाटो तय गर्नुपर्ने उनको तर्क छ।ढुंगानाको पछिल्लो अभिव्यक्तिले निर्वाचनका बेला नेपाली कांग्रेसलाई गरिएको समर्थनलाई दीर्घकालीन राजनीतिक प्रतिबद्धताभन्दा तत्कालीन परिस्थितिमा आधारित निर्णयका रूपमा व्याख्या गरेको देखिन्छ। साथै, उनले अबको राजनीतिक बहस कुनै एक दलको समर्थन वा विरोधमा सीमित नभई दीर्घकालीन वैकल्पिक राजनीतिक धार निर्माणमा केन्द्रित हुनुपर्ने धारणा अघि सारेका छन्।