बाढी–पहिरोको जोखिम बढेपछि लामो दूरी र रातिको यात्रा नगर्न यातायात व्यवसायी महासङ्घको आग्रह

बाढी–पहिरोको जोखिम बढेपछि लामो दूरी र रातिको यात्रा नगर्न यातायात व्यवसायी महासङ्घको आग्रह

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशका विभिन्न भागमा भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेको भन्दै अत्यावश्यक कामबाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। महासङ्घले असोज ८ गतेदेखि १२ गतेसम्म विपद्को उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी, चालक, सहचालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन अपिल गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्वसूचनालाई आधार मान्दै महासङ्घले सार्वजनिक सूचना जारी गरी सवारी सञ्चालन गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे अनिवार्य जानकारी लिन आग्रह गरेको छ। कुनै पनि रुटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न सदस्य सङ्घ, समिति, कम्पनी र बुकिङ कर्मचारीलाई अनुरोध गरिएको छ।महासङ्घले जोखिमयुक्त राजमार्ग तथा सडकमा सम्भावित अवरोध हटाउन डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे नजिकका बस्ती र पहिरोको जोखिममा रहेका स्थानका बासिन्दालाई विशेष सतर्क रहन तथा आवश्यक परे प्रतिकार्यअघि नै सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ।

महासङ्घले विपद्को समयमा सङ्घीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायलाई सर्वसाधारणलाई आवश्यक सूचना उपलब्ध गराउँदै प्रतिकार्यका लागि तयारी अवस्थामा रहनसमेत आग्रह गरेको छ। साथै, मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने पूर्वानुमान र चेतावनीलाई निरन्तर पछ्याउन सबैमा अपिल गरेको छ।विपद्सम्बन्धी आवश्यक जानकारी तथा सहयोगका लागि बाढी र वर्षासम्बन्धी जानकारी लिन ११५५, विपद्मा सहायता माग्न ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न सकिने महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार