काठमाडौँ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले राजनीतिक गतिविधिमा प्रत्यक्ष संलग्न शिक्षकलाई कारबाही गर्न सरकारले दिएको निर्देशन कार्यान्वयन गर्नुपर्ने बताएको छ। महासङ्घका महासचिव तुलबहादुर थापामगरले शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी हुनु उचित नभएको भन्दै वर्तमान परिस्थितिलाई ध्यानमा राखेर शिक्षकहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन्।
शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएका विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक हुन थालेपछि शिक्षामन्त्री सस्मित पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएका थिए। उनले राजनीतिक गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
यसैबीच, विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइहरूले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइएमा कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएका छन्। सरकारले विद्यालयमा शिक्षकको राजनीतिक संलग्नता रोक्न निगरानी र कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।