भीषण वर्षाको पूर्वानुमानपछि वायुसेवा कम्पनीलाई उच्च सतर्कता अपनाउन आग्रह

भीषण वर्षाको पूर्वानुमानपछि वायुसेवा कम्पनीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबारदेखि आइतबारसम्म देशभर भीषण वर्षा तथा प्रतिकूल मौसमको पूर्वानुमान गरेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले आफ्ना सदस्य वायुसेवा कम्पनीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सङ्घले बुधबार परिपत्र जारी गर्दै प्रतिकूल मौसमका कारण हवाई यातायात प्रभावित हुन सक्ने भएकाले पूर्ण सुरक्षाको प्रत्याभूति गरेर मात्र उडान सञ्चालन गर्न तथा गराउन आग्रह गरेको हो।

विभागका अनुसार उक्त अवधिमा विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका केही स्थानमा पनि चट्याङ, हावाहुरी र भारी वर्षा हुन सक्ने जनाइएको छ। हिमाली क्षेत्रमा भारी वर्षा तथा हिमपातका कारण पर्वतारोहण र यात्रा जोखिमपूर्ण हुन सक्ने सङ्घले जनाएको छ।

वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिमसमेत रहेकाले सम्भावित आपत्कालीन अवस्थाका लागि तत्काल उद्धार कार्य सञ्चालन गर्न तयारी अवस्थामा रहन सङ्घले सदस्य वायुसेवा कम्पनीहरूलाई अनुरोध गरेको छ। सङ्घका अध्यक्ष प्रतापजंग पाण्डेले मौसमको अद्यावधिक अवस्थाबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको आधिकारिक वेबसाइट नियमित रूपमा हेर्न र उडान सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरिएको जानकारी दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार