जापानद्वारा बाढीपहिरोपीडितका लागि २० लाख डलर आपतकालीन सहयोग

जापानद्वारा बाढीपहिरोपीडितका लागि २० लाख डलर आपतकालीन सहयोग

काठमाडौँ । सन् २०२६ अगस्टमा मध्य नेपालका रसुवा, नुवाकोट र धादिङ जिल्लामा गएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि जापान सरकारले कुल २० लाख अमेरिकी डलर आपतकालीन अनुदान उपलब्ध गराएको छ। नेपाल सरकारको नेतृत्वमा सञ्चालित मानवीय सहायता कार्यलाई थप सुदृढ बनाउन अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत उक्त सहयोग प्रदान गरिएको हो।

जापान सरकारबाट आईओएममार्फत उपलब्ध गराइएको १० लाख अमेरिकी डलरबाट प्राथमिकतामा परेका अति विपन्न बाढीप्रभावित परिवारलाई आपतकालीन आश्रय तथा अत्यावश्यक घरायसी सामग्री उपलब्ध गराइनेछ। आईओएमले सरकारी निकाय तथा मानवीय साझेदारसँगको समन्वयमा प्रभावित क्षेत्रमा टोली परिचालन गरी वास्तविक आवश्यकताको पहिचान गरिरहेको जनाएको छ। राहत सामग्री वितरण स्थानीय तह, नागरिक समाज तथा अन्य सरोकारवालासँगको समन्वयमा पारदर्शी रूपमा गरिने बताइएको छ।

नेपालका लागि जापानी राजदूत माएदा तोरुले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आपतकालीन सहायता प्रदान गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले यस सहयोगमार्फत प्रभावित परिवारलाई आवश्यक आश्रय तथा गैरखाद्य सामग्री उपलब्ध गराई उनीहरूको जीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।आईओएम नेपालकी प्रमुख हेलिन फोर्सले विपद्का कारण घरबार तथा आफन्त गुमाएका नेपालीका लागि जापान सरकारको सहयोग निकै महत्त्वपूर्ण रहेको बताएकी छन्। उनका अनुसार जापानको सहयोगले प्रभावित परिवारलाई नयाँ जीवन सुरु गर्न तथा नेपाल सरकारको राहत प्रयासलाई थप सहयोग पुर्‍याउनेछ। आईओएमले राहत वितरण प्रक्रियामा प्रभावित समुदायका गुनासा तथा सुझाव सुन्ने संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ।यसैगरी, जापान सरकारले विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत पनि १० लाख अमेरिकी डलर आपतकालीन अनुदान उपलब्ध गराएको छ। डब्ल्यूएफपीका नेपाल प्रतिनिधि रियाज लोधीले जापान सरकार तथा जापानी जनताप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले जीवनरक्षक सहायता वास्तविक आवश्यकता भएका परिवारसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार