गोरखा । मनास्लुको हिमपहिरोमा पुरिएर मृत्यु भएका दुई जनाको शव बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र सङ्खुवासभाको मकालु–२ का फुर्सेम्बा शेर्पाको गत आइतबार राति मनास्लुको तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो। घटना भएको तीन दिनपछि उनीहरूको शव मंगलबार मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँ पुर्याइएको थियो। सामागाउँबाट बुधबार बिहानै शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
गुहा र शेर्पा मकालु एड्भेञ्चर कम्पनी प्रालिमार्फत मनास्लु आरोहणका लागि गएका थिए। उनीहरूको मृत्यु भएसँगै यस सिजन मनास्लुमा मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि दोस्रो शिविरमा सिङ्गापुरका ५० वर्षीय आरोही लाउवी सेङ तथा आधार शिविरमा नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको मृत्यु भएको थियो।
‘किलर माउन्टेन’का रूपमा समेत चिनिने मनास्लु आरोहणका लागि यस सिजन ४९३ जना विदेशी आरोहीले अनुमति लिएका छन्। तर प्रतिकूल मौसमका कारण अहिलेसम्म कुनै पनि आरोहीले मनास्लुको सफल आरोहण गर्न सकेका छैनन्। भारी हिमपात र अविरल वर्षाका कारण आरोहीहरू धमाधम काठमाडौं फर्किन थालेका छन्।