काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर बयकले विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाल आगमनले आर्थिक तथा डिजिटल क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले विश्वव्यापी रूपमा विस्तार भइरहेको डिजिटल अर्थतन्त्रलाई ध्यानमा राख्दै विदेशी सेवा प्रदायकलाई नेपाली बजारमा प्रवेश गराउने व्यवस्था सकारात्मक भएको बताए।
सांसद बयकले विदेशी कम्पनीको प्रवेशबाट प्रविधि हस्तान्तरण र बजारमा स्वस्थ प्रतिस्पर्धाको वातावरण बन्न सक्ने उल्लेख गरे। साथै, ई–कमर्स तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा डिजिटल भुक्तानी प्रणालीले महत्वपूर्ण योगदान पुर्याउन सक्ने उनको भनाइ थियो।तर उनले विधेयकका केही प्राविधिक पक्षमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। विशेषगरी विदेशी कम्पनीहरूले नेपालमा आर्जन गरेको मुनाफा विदेश लैजाँदा मुलुकको विदेशी विनिमय सञ्चितिमा पर्न सक्ने प्रभावप्रति उनले सरकारको ध्यानाकर्षण गराए। पुँजी पलायन रोक्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
बयकले साइबर सुरक्षा र डेटा गोपनीयताको विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। बढ्दो डिजिटल वित्तीय अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था र प्रभावकारी सुरक्षा संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो।त्यस्तै, विदेशी ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न स्वदेशी भुक्तानी सेवा प्रदायकलाई सक्षम बनाउन सरकारले आवश्यक संरक्षणमुखी नीति अवलम्बन गर्नुपर्ने उनले बताए। डिजिटल भुक्तानीको विस्तारबाट प्राप्त हुने आर्थिक अवसरलाई उपयोग गर्दै आन्तरिक अर्थतन्त्र, स्वदेशी पुँजी र डेटा सुरक्षालाई समेत समान रूपमा प्राथमिकता दिनुपर्नेमा सांसद बयकले जोड दिए।