काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रको विकाससँगै वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभामा प्रस्तुत ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले समयानुकूल कानुनी व्यवस्था आवश्यक रहेको बताएका हुन्।
सांसद बुढाथोकीले प्रस्तावित विधेयकले भुक्तानी तथा फर्छ्यौट प्रणालीमा देखिएका व्यावहारिक कठिनाइ र कानुनी अस्पष्टतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे। विद्यमान ऐनलाई समयसापेक्ष बनाउँदै बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता अभिवृद्धि गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
उनले भुक्तानी प्रणाली रकम हस्तान्तरण गर्ने माध्यम मात्र नभई बचतलाई उत्पादनशील लगानी र रोजगारी सिर्जनासँग जोड्ने महत्वपूर्ण वित्तीय पूर्वाधार भएको बताए। सुरक्षित, सहज र भरपर्दो भुक्तानी प्रणालीले औपचारिक वित्तीय प्रणालीप्रतिको विश्वास बढाउनुका साथै कृषि, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने उनले उल्लेख गरे।विधेयकमा समावेश सञ्चालक समितिका विज्ञ सदस्यको योग्यता, एजेन्ट नियुक्ति प्रक्रिया तथा विदेशी संस्थाको अनुमति नवीकरणसम्बन्धी प्रावधानले भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउन सक्ने सांसद बुढाथोकीको भनाइ छ। डिजिटल कारोबारको दायरा विस्तार भइरहेका बेला साइबर सुरक्षा, उपभोक्ताको वित्तीय तथ्याङ्कको सुरक्षा तथा प्रभावकारी नियमनलाई उच्च प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।