कांग्रेस एकता कायम गर्न देउवा–थापा संवादको पहल

कांग्रेस एकता कायम गर्न देउवा–थापा संवादको पहल

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको पक्षमा आफू सहभागी भएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले पार्टीको आधिकारिकतासम्बन्धी कानुनी लडाइँ जारी रहे पनि कांग्रेसलाई एकताबद्ध राख्न आफू आधिकारिक कांग्रेसको पक्षमा उभिएको स्पष्ट पारे। भाद्र २४ गते शेरबहादुर देउवामाथि भएको घटनालाई दुःखद र निन्दनीय भन्दै विश्वकर्माले उपचारपछि फर्किएका देउवालाई सर्वोच्च नेताका रूपमा स्वीकार्न सबै तयार रहेको बताए। उनले सानेपास्थित आधिकारिक पार्टी कार्यालयको आह्वानमा हुने १५औँ महाधिवेशनमा देउवा प्रमुख अतिथिका रूपमा सहभागी भई उद्घाटन गरिदिनुपर्ने धारणा पनि राखे। कांग्रेस सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा दुवै एक–आपसमा संवाद तथा भेटका लागि इच्छुक रहेको उल्लेख गर्दै उनले केही दिनभित्रै प्रत्यक्ष संवाद गराएर सहमति कायम गर्ने प्रयास भइरहेको दाबी गरे। सानेपा र चुनदेवीमा रहेका दुवै पक्षबीच सहमति र सहकार्य नभएसम्म नेपाली कांग्रेसको जनमत, शक्ति र समर्थन जोगाउन कठिन हुने भएकाले पार्टी एकताका लागि दुवै पक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको विश्वकर्माको भनाइ छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार