काठमाडौँ । प्रतिनिधिसभाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्तुत गरेको राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकमाथि छलफल गरिएको थियो।
छलफलका क्रममा सांसदहरूले सङ्क्रामक पशु रोग फैलिनुअघि नै रोकथाम तथा नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले ग्रामीण अर्थतन्त्रको मुख्य आधार कृषि र पशुधन भएकाले पशु रोग नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताए। नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्लले विधेयकले पशुपालक किसानले भोग्दै आएका समस्या समाधान गर्नुपर्ने धारणा राखे।
रास्वपाकी सांसद समिना मियाँले पशु स्वास्थ्यलाई मानव स्वास्थ्य र वातावरणीय स्वच्छतासँग जोडेर सङ्क्रामक रोग नियन्त्रण गर्नुपर्ने बताइन्। छलफलमा सहभागी अन्य सांसदहरूले पनि पशु रोग नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिएका थिए।प्रतिनिधिसभाको अर्को बैठक असोज ८ गते बिहान ११ बजे बस्नेछ।