काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पछिल्लो समय नेपाली पत्रकारिताको व्यावसायिकता, निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको बताएका छन्। हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले पत्रकारिताको गरिमा र साख जोगाउने मुख्य जिम्मेवारी प्रत्येक पत्रकार स्वयंको रहेको बताए।
मन्त्री तिमिल्सिनाले पत्रकारितालाई कुनै अमुक संस्था वा संगठनले मात्र संरक्षण गर्न नसक्ने उल्लेख गर्दै नेपाल पत्रकार महासङ्घप्रति समेत आलोचनात्मक टिप्पणी गरे। उनका अनुसार पत्रकारिता आफैँमा एउटा संस्था भएकाले प्रत्येक दिन गरिने कामले यसको साख बढाएको छ वा कमजोर बनाएको छ भन्ने विषयमा पत्रकारहरू स्वयं जिम्मेवार र सचेत हुनुपर्छ।उनले पत्रकारिताको नाममा मञ्च पाउनेबित्तिकै आलोचना र घोचपेच गर्ने प्रवृत्तिले मात्र क्षेत्रको विकास हुन नसक्ने बताए। पत्रकारको सुरक्षा, व्यावसायिकता र भविष्य नै अहिले ठूलो प्रश्नका रूपमा खडा भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि गम्भीर प्रयास आवश्यक रहेको बताए।
सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी तथा सार्वजनिक सञ्चार माध्यमहरूको इतिहास गर्विलो भए पनि पछिल्लो समय ती संस्थाहरू कमजोर बनाइएको बताए। रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रजस्ता संस्थामा विद्यमान समस्या समाधानका लागि सतही रूपमा नभई समस्याको भित्री जरोसम्म पुग्नुपर्ने उनको भनाइ थियो। उनले विगतमा भएका गलत निर्णय र अभ्यासलाई सच्याउँदै संस्थागत सुधार अघि बढाउनुपर्नेमा जोड दिए।सरकारी तथा सार्वजनिक सञ्चार संस्थासँग अर्बौँ रुपैयाँ बराबरको पूर्वाधार तथा सम्पत्ति भए पनि कर्मचारीलाई पेन्सन र सेवा–सुविधा दिन नसक्नु दुःखद भएको मन्त्री तिमिल्सिनाले बताए। साथै, केही सार्वजनिक सञ्चार संस्थाको लामो समयदेखि लेखापरीक्षणसमेत हुन नसकेको उल्लेख गर्दै आर्थिक तथा व्यवस्थापकीय सुधारलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।मन्त्री तिमिल्सिनाले केही वर्ष निरन्तर र निर्मम ढङ्गले मेहनत गरेमा सार्वजनिक सञ्चार संस्था तथा समग्र पत्रकारिता क्षेत्रमा सुधार सम्भव रहेको बताए। उनले सार्वजनिक सञ्चार संस्था र नेपाली पत्रकारितालाई पुनः गर्व गर्न लायक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।