विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय नबनाउन मन्त्री पुनको सुझाव

विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय नबनाउन मन्त्री पुनको सुझाव

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास नगर्न सचेत गराएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्दै मन्त्री पुनले प्रयोगशालाको प्राथमिक उद्देश्य अनुसन्धान र नवप्रवर्तन हुनुपर्नेमा जोड दिएका हुन्।

मन्त्री पुनले नेपालमा विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा बढ्दै गए पनि गुणस्तरीय पठनपाठनमा पर्याप्त ध्यान नदिइएको बताए। विधि विज्ञान प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री वितरण गर्ने थलो बनाउन नहुने उनको भनाइ छ। यस्तो प्रयासले प्रयोगशालाको मूल उद्देश्य र संस्थागत मर्म कमजोर पार्न सक्ने उनले बताए।

उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायत अनुसन्धानमा केन्द्रित संस्थाहरू पनि पठनपाठन र डिग्री प्रदान गर्नेभन्दा अनुसन्धान तथा नवप्रवर्तनमै केन्द्रित हुनुपर्ने धारणा राखे। पठनपाठनका लागि मुलुकभर पर्याप्त विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू रहेकाले अनुसन्धानमुखी प्रयोगशालालाई सोही भूमिकामा सीमित राख्नुपर्ने उनले बताए।

मन्त्री पुनले विधि विज्ञानजस्तो संवेदनशील क्षेत्रलाई आर्थिक लाभसँग जोडेर कमजोर बनाउन नहुनेमा समेत जोड दिए। प्रयोगशालाले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थासँग सहकार्य गर्दै आवश्यक पठनपाठन वा तालिममा योगदान गर्न सक्ने भए पनि स्वयंले विश्वविद्यालयकै स्वरूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न नहुने उनको धारणा छ। विधि विज्ञान प्रयोगशालालाई शैक्षिक प्रतिष्ठान बनाउँदा भविष्यमा त्यसलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्ने दबाब सिर्जना हुन सक्ने भन्दै उनले संस्थाको मूल उद्देश्य जोगाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार