भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना

भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको बताएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री बादीले प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावक खोजी तथा पारिवारिक पुनर्मिलनलाई सरकारले विशेष प्राथमिकता दिएको जानकारी दिइन्।

उनका अनुसार प्रभावित १५ स्थानीय तहमा बाल संरक्षणसम्बन्धी समन्वय संयन्त्र गठन गरी सूचना सङ्कलन, उद्धार तथा संरक्षणको काम भइरहेको छ। बालबालिकाका लागि ४० स्थानमा बालमैत्री केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ।

मन्त्री बादीले आमाबुवा गुमाएका, अपाङ्गता भएका तथा दुर्गम र सामाजिक–आर्थिक रूपमा पछाडि परेका बालबालिकाको संरक्षणलाई सरकारले विशेष जिम्मेवारीका रूपमा लिएको बताइन्। ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा उद्धार गरिएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पुनर्मिलनलगायत सेवा उपलब्ध गराउने गरी अस्थायी संरक्षण सेवा सञ्चालन गरिएको उनले जानकारी दिइन्।

बाढीका कारण अभिभावक बेपत्ता भएका वा गुमाएका बालबालिकालाई १८ वर्षको उमेर नपुग्दासम्म उचित संरक्षण, स्याहार, पोषण, स्वास्थ्य उपचार, कम्तीमा १२ वर्षसम्मको शिक्षा तथा सामाजिक सुरक्षाको व्यवस्था गर्ने गरी दीर्घकालीन स्याहार योजना अघि बढाइएको मन्त्री बादीले बताइन्।

राष्ट्रिय बाल अधिकार परिषद्मार्फत प्रभावित क्षेत्रमा बालबालिकाको अवस्थाबारे विस्तृत लेखाजोखा गर्ने काम तीव्र पारिएको उल्लेख गर्दै उनले समस्यामा परेका बालबालिकाबारे परिषद्लाई जानकारी गराउन आग्रह गरिन्।

मन्त्री बादीले विपद्को समयमा सरकारको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रभावित बालबालिकाको प्रभावकारी संरक्षणका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्।

उनले बालबालिकाको संरक्षण तथा शिक्षाका नाममा समेत अनधिकृत रूपमा ओसारपसार वा स्थानान्तरण गर्न नपाइने स्पष्ट पारिन्। राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिसबिना बालबालिकाको ओसारपसार तथा स्थानान्तरण गैरकानुनी हुने उनले बताइन्।

यसैगरी, विपद्बाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार, सहायक सामग्री तथा पुनर्स्थापनाका लागि सम्बन्धित आश्रम, स्थानीय तह र सेवाप्रदायक संस्थासँग समन्वय गरिएको मन्त्री बादीले जानकारी दिइन्। नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री तथा मनोसामाजिक परामर्श उपलब्ध गराइएको उनले बताइन्।

गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुको उद्धारका लागि सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका क्षेत्रमा हवाई उद्धारको व्यवस्था गरिएको पनि मन्त्री बादीले जानकारी दिइन्। उनका अनुसार हालसम्म जटिल प्रसूति अवस्थामा रहेका ११ जना महिला तथा नवजात शिशुलाई हवाई उद्धार गरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याइएको छ।

बाढी प्रभावित महिला तथा किशोरीका लागि नुवाकोट र धादिङमा १० वटा महिला तथा किशोरीमैत्री सुरक्षितस्थल स्थापना गरिएको छ। साथै, बूढानीलकण्ठमा विपद्बाट प्रभावित तथा जोखिममा रहेका महिलाको संरक्षण, सुरक्षा र आवश्यकताअनुसार अस्थायी आश्रयको व्यवस्था सुनिश्चित गरिने मन्त्री बादीले बताइन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार